आज प्रजातन्त्र दिवस मनाइँदै

काठमाण्डु टुडे २०७९ फागुन ७ गते ८:३८ मा प्रकाशित

काठमाण्डु, ७ फागुन– नेपाली जनता निरङ्कुश जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ ।

नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट विसं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँयुग प्रारम्भ भएको थियो । मुलुकमा प्रजातन्त्र स्थापनाका सिलसिलामा त्यस बेलाका होनहार युवा शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा लगायतले बलिदानी दिएका थिए ।

आजको दिनलाई निरङ्कुशताको बर्बरताबाट मुक्ति पाएको घटनाका रूपमा स्मरण गरिँदै आएको छ । प्रजातन्त्र दिवसको महत्वको स्मरण गर्दै राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष लगायतका दलका प्रमुखले नेपाली जनालाई शुभकामना सन्देश दिएका छन् ।
साथै ऐतिहासिक दिनका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमूल्यजीवन बलिदान गर्ने अमर सहिदप्रति उनीहरूले श्रद्धासुमन अर्पण गरेका छन् ।

प्रजातन्त्र दिवस मूल समारोहको समन्वयमा राजधानीको टुँडिखेलमा प्रजातन्त्र दिवस भव्यरूपमा मनाइँदैछ । उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतको सहभागिता रहनेछ।एमाले अध्यक्ष केपी ओलीले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न आह्वान गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us