राष्ट्रियताको रक्षाका निम्ति फ्रन्टलाइनमा छु: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०७९ फागुन ५ गते ११:०६ मा प्रकाशित

काठमाण्डु,५ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन ।

सरकारलाई राष्ट्रियता, संघीयता र जनजीविकाका सवालहरू समेटेर ज्ञापनपत्र बुझाउन आएका राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नेतृत्वको टोलीले पछिल्लो अवधिमा बागलुङको गलकोट क्षेत्रमा महिलाहरूका गरगहना लुट्नका लागि ४ जनाको हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

अन्य जिल्लाहरूमा पनि लुटपाटका घटना भएको भन्दै जनमोर्चाले शान्ति सुव्यवस्थाको माग गरेको छ । भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन ।

प्रधानमन्त्रीले बैठकस्थलबाटै नेपाल प्रहरीका महानिरीक्षकसँग सम्पर्क गरी जनमोर्चाको ज्ञापनपत्र सम्वोधन हुने गरी शान्ति सुरक्षाको व्यवस्था गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएका छन ।

जनमोर्चाका नेताहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो राजनीतिक जीवन राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा नै भएको भन्दै संघीयता खारेज गर्नुपर्ने मागबाहेक अन्य मुद्दाहरूमा आफू जनमोर्चासँगै रहेको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us