
काठमाण्डु,४ फागुन– प्रहरीले ल्होत्से मलमा भएको लुटपाटमा सहभागी भएका १५ जनालाई पक्राउ गरेको छ ।
यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरु चोरी गर्दै गरेको देखिएका उनीहरुलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाण्डुका एसएसपी मनोज केसीले जनकारी दिएका छन ।
उनले भने, ‘भिडियोमा देखिएका मुख्य मुख्य व्यक्तिलाई समातिसकेका छौं, थप केही निगरानीमा छन् ।’ पक्राउ परेका मध्ये ७ जना महानगर, बाइसधारा र तारकेश्वर यातायातका चालक र सह–चालक छन् ।
पक्राउ परेका मध्ये अरु केही तोडफोड र आगजनीमा संलग्न व्यक्ति पनि रहेका छन छन् । जिल्ला प्रहरी परिसर, काठमाण्डुले सोमबार भएको घटनामा चार जनालाई पहिल्यै नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।
मोबाइल चोर्दा चोर्दै सुरक्षागार्डले नियन्त्रणमा लिएर उनीहरुलाई प्रहरीको जिम्मा लगाएका थिए । आन्दोलनका क्रममा परिस्थिति प्रहरीको नियन्त्रण बाहिर गएको मोका छोपेर उनीहरुले दुई वटा पसलमा तोडफोड र लुटपाट गरेका थिए ।
त्यसबेलाको भिडियो र फोटोहरुका आधारमा अनुसन्धान गरेर संलग्नलाई पक्राउ गरिएको एसएसपी डा। केसीले बताएका छन ।