
काठमाण्डु,३ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्ययक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार काठमाण्डुको गोंगबुमा भएको तोडफोड र लुटपाटको घटनाको गम्भीर रूपमा अनुसन्धान गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन ।
आज (बुधबार) दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरक्षा अधिकारीसहितको बैठक राखेर प्रधानमन्त्री प्रचण्डले घटनाको गहिरो अनुसन्धान गर्न र अन्यायमा परेकाले न्याय पाउने गरी कारबाही अघि बढाउन निर्देशन दिएका उनको सचिवालयले बताएको छ ।
राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ । घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी को को छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस्’ उनले भने ।’
सोमबार दिउँसोदेखि यातायात मजदुरले गोंगबु क्षेत्रमा गरेको आन्दोलनका क्रममा यातायात अवरुद्ध पार्नुका साथै बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलमा तोडफोड र त्यहाँको मोवाइल पसलमा लुटपाट गरेका थिए ।
त्यस्तै आन्दोलनकारीले माछापोखरीमा प्रहरीका दुईवटा गाडी र प्रहरी विट जलाएका थिए । छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूले बसपार्क क्षेत्रमा केही विवाद भए पनि यति अप्रिय घटना होला भनेर आफूहरूले पूर्वअनुमान नगरेको बताएका थिए ।
घटनामा ३३ जना सुरक्षाकर्मी घाइते भएका, शान्तिसुरक्षाको पूर्वअनुमान गर्न नसकिएको, प्रहरीको सावधानीका कारण मानवीय क्षति नभएको र विवादकै बीच लुटेरा समूहले फाइदा उठाएको ब्रिफिङ गरेका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सुरक्षा अधिकारीहरुले घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीका एसएसपीको नेतृत्वमा समिति गठन गरिएको समेत जानकारी गराएएका थिए ।