काठमाण्डु,३ फागुन– मोबाइल व्यवसायीहरुले सरकारसँग नयाँ बसपार्क क्षेत्रमा १ फागुनमा भएको यातायात मजदुरको आन्दोलनका कारण भएको क्षतिको क्षतिपूर्ति माग गरेका छन् ।
आज नेकपा (माओवादी केन्द्र}का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गर्दै मोबाइल व्यवसायी संघले गोंगबु बसपार्कको ल्होत्से मलमा सञ्चालनमा रहेको मोबाइल पसलहरुबाट भएको मोबाइल, ल्यापटपको चोरी र संरचना तोडफोडबाट अनुमानित ८ करोड बराबरको क्षति भएको जानकारी दिएका छन ।
प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा निर्धक्क व्यवसाय गर्न नसकिने परिस्थिति उत्पन्न भएको बताइएको छ । ‘दिन दहाडै सुरक्षालाई चुनौती दिँदै लुटपाटको शैलीमा यस्ता अराजक गतिविधि भइरहँदा हाम्रो अभिभावक सरकारसँग नगए हामी कहाँ जाउँ ? यहाँबाट उचित क्षतिपूर्ति र व्यवसाय पुनः निर्धक्क सञ्चालन गर्नसक्ने अवस्थाको प्रत्याभूतिको लागि सविनय अनुरोध गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ ।
अमूर्त आश्वासन भन्दा पनि ठोस प्रतिबद्धता चाहिएको भन्दै व्यवसायीहरुले अन्यथा देशैभरबाट व्यवसायीहरुको आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।