राष्ट्रपतिको भिटो अधिकारबारे छलफल हुन जरुरी छ: प्रदीप यादवले

काठमाण्डु टुडे २०७९ फागुन ३ गते १३:३५ मा प्रकाशित

काठमाण्डु,३ फागुन– जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले संविधान जारी भएको आठ बर्षसम्म संविधान अनुसार नागरिकता ऐन नबन्नु दुखद भएको बताएका छन ।

आज बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन । उनले नागरिकता ऐन संशोधन नहुँदा ६ लाख बढी नागरिक नागरिकताबिहीन हुनुपरेको बताएका छन ।

यसअघि संसदले नागरिकता ऐन संशोधन विधेयक पारित गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले रोकिदिएको भन्दै सांसद यादवले असन्तुष्टि व्यक्त गरेका छन ।

दुई पटकससम्म संघीय संसदले पारित गरेर पठाउँदा समेत राष्ट्रपतिले प्रमाणीकरण नगरिदिएको उल्लेख गर्दै उनले भने, ‘राष्ट्रपतिको भिटो अधिकारबारे छलफल हुन जरुरी छ ।’

प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा मुख्यत नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकता दिने विषयमा दलहरुका बीचमा कुरा मिलेको थिएन ।

तत्कालीन अवस्थामा एमालेले नेपाली पुरुषसँग बिबाह गरेर आउने विदेशी महिलालाई ७ वर्षपछि मात्रै नेपाली नागरिकता (वैवाहिक अंगीकृत नागरिकता) दिनुपर्ने विषयमा अडान लिएको थियो ।

एमालेसँग सरकारमा रहँदा नेकपा माओवादी केन्द्रले पनि यही विषयमा आफ्नो अडान राखेको थियो । तर, पछि कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएपछि विवाहलगत्तै अंगीकृत नागरिकता प्रदान गर्ने प्रावधानको निरन्तरताको पक्षमा माओवादी केन्द्र रह्यो ।

अब पनि नागरिकता विधेयक सदनमा ल्याउन र पारित गर्नमा ढिलाइ गरेर पार्टीले सदन र सडकमा आन्दोलन चर्काउने जसपा सांसद यादवको चेतावनी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us