
काठमाण्डु,३ फागुन– कांग्रेसले बसपार्कमा भएको लुटपाट र तोडफोडको घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । आज बसेको प्रतिनिधि सभा बैठकको विशेष र शून्य समयमा बोल्ने कांग्रेस नेताहरुले यस्तो माग गरेका हुन ।
विशेष समायमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काठमाण्डुको मुटुमै शान्ति सुरक्षाको प्रत्याभूति सरकारले गराउन सक्दैन भने दुरदराजको स्थिति के होला ? भन्दै प्रश्न गरेका छन । उनले तत्काल दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन ।
उनले वास्तविक मजदुरका जायज माग सम्बोधन गर्दै बसपार्क क्षेत्रमा भइरहेको अराजक गतिविधि र अनियमितता रोक्नुपर्ने बताएका छन । उनले भने ‘मजदुरको नाममा को त्यहाँ प्रवेश गरेका छन् ? कसले प्रोत्साहित गरेको छ ?’ उनले भने, ‘मजदुरको जायज माग सम्बोधन गर्नुपर्छ ।’
मजदुरको नाममा शक्तिको आडमा अनियमितता भइरहेको छ कि भनेर ध्यान दिनुपर्ने उनको भनाइ छ । शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले बसपार्क क्षेत्रको घटना सुनियोजित र प्रायोजित भएको बताएका छन ।
पीडितसँग सरकारले अहिलेसम्म छलफल पनि नगरेको बरु उल्टै पक्राउ गरेको सुन्नमा आएको उनले बताएका छन ।