
काठमाण्डु, २ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपतिको चुनावपछि मात्र भारत भ्रमणमा जाने भएका छन ।
१० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डको भारत भ्रमण यही फेब्रुअरीमा हुने गरी तयारी चलिरहेको थियो । तर, राष्ट्रपतिको चुनावलगायतका विषयले उनको भ्रमण पर धकेलिएको स्रोतले जानकारी दिएको छ ।
नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भारत भ्रमणको विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेको भारतीय दूतावास स्रोतले बताएको छ ।
प्रचण्डसँग क्वात्राले सोमबार भेटवार्ता गरेका थिए । स्रोतले भन्यो, ‘विदेश सचिवले भारत भ्रमणको विषयमा चर्चा गर्नुभएको छ, निम्तो दिनुभएको छ । तर अहिले नेपालेका राजनीतिक अवस्था ठिक नभएको कारण मिति तय भएको छैन ।’
स्रोतका अनुसार अहिले नै भारत भ्रमण गराउन सम्भव नहुने देखिएसँगै राष्ट्रपतिको चुनावपछि मात्र हुने गरी आन्तरिक तयारी थालिएको छ । आगामी २५ गते राष्ट्रपतिको चुनाव हुँदै छ त्यसअघि फागुन १३ मा मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि फोनमा बधाई तथा शुभकामना दिँदै भारत भ्रमणका लागि निम्तो दिएका थिए ।