भित्रका बाहिरका अनेक शक्ति देश बर्बाद पार्न क्रियाशील छन्: केपी ओली

काठमाण्डु टुडे २०७९ फागुन २ गते १६:०७ मा प्रकाशित

काठमाण्डु, २ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावअघिको सत्तारुढ गठबन्धन फुटाउन सफल भए पनि ढुक्क हुन नसकिएको बताएका छन ।

आज (मंगलबार) पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुको सम्मेलन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । उनले यो स्थिति फेरिन सक्ने बताएका छन ।

उनले भने, ‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को सरकार बनाउन सफल भएका छौं, यो सफलताको कुरा हो । तर हाम्रा आम रुपमा पार्टीका साथीहरु प्रसन्न भएको देखिन्छ, प्रसन्न हुनुपर्छ तर कथं यो स्थिति फेरियो भने, संसदको बनावट अस्थिरताको कारक हुने बनावट छ’ ।

संसदमा बहुमत कसैको नभएको र एमालेसँग बहुमत भन्दा निकै तल सिट रहेको ओलीले बताएका छन । उनले भने, ‘अनेक प्रकारका भित्रका बाहिरका अनेक शक्ति देश बर्बाद पार्न क्रियाशील छन्’ ‘सबभन्दा पहिले कुनै डाँकाले बैंक डकैती गर्नुपरेमा पालेलाई प्रहार गर्छ । एमाले यो देशको पाले हो, पहिले यसमाथि प्रहार हुन सक्छ ।’

अनेक प्रकारका शक्ति षड्यन्त्रमा क्रियाशील रहेको भन्दै ओलीले स्थिरता हुन नदिने प्रयास भइरहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us