यो देशमा समस्या छन् , ती समस्याको समाधान हामी गर्छौं: केपी ओली

काठमाण्डु टुडे २०७९ फागुन २ गते १६:०१ मा प्रकाशित

काठमाण्डु, २ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा समस्या रहेको भन्दै ती समस्याको समाधान नेकपा एमालेले मात्र गर्ने बताएका छन ।

आज मंगलबार काठमाण्डुमा सुरु भएको अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अध्यक्ष ओलीले यो जिम्मेवारी एमालेको काँधमा आएको पनि बताएका छन ।

उनले भने , ‘यो देशमा समस्या छन् । ती समस्याको समाधान हामी गर्छौं । हामी भनेको नेकपा एमाले’, एमाले राष्ट्रिय हित, राष्ट्रिय गौरव र स्वाभिमानको पक्षमा रहेको भन्दै एमाले राष्ट्रियताको साँचो प्रतिनिधि र रक्षक भएको पनि बताएका छन ।

ओलीले मातृभूमिको रक्षा गर्ने एमालेमात्र भएको भन्दै समानता, स्वाधीनता र स्वतन्त्रताको पहुँचको सुनिश्चितबाट जनता वञ्चित भएको बताएका छन । यो साधारण कुरा होइन ।

भोकै बस्नु, जाडोमा कठ्याङग्रिनु बिमारी हुँदा उपचार गर्न नसक्नु यो साधारण पीडा होइन । यसबाट मुक्त गर्नुपर्छ’ ओलीको भनाइ छ ।

उनले समाजवाद धेरैले भन्ने गरेपनि त्यसको सामाजिक, आर्थिक, सांस्कृतिक पक्षलाई समेटेर मात्रै समाजवाद र समृद्ध नेपाल सुखी नेपालीको यात्रामा अघि बढ्नुपर्ने बताए ।

उनले अनेरास्ववियु नेपालको विद्यार्थी आन्दोलनको मात्रै मूलधार नभएर नेपालको राजनीतिमै अत्यन्तै महत्त्वपूर्ण भूमिका र गौरवपूर्ण इतिहास बोकेको प्रगतिशील संगठन भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us