
काठमाण्डु, २ फागुन– नेपाल मोबाइल व्यवसायी महासंघले यातायात मजदुरहरुको प्रदर्शनका क्रममा सोमबार भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने बताएको छ ।
आज मंगलबार महासंघले नयाँ बसपार्कस्थित ल्होत्से मलमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो । सोमबार भएको यातायात मजदुरहरुको प्रदर्शनको क्रममा ल्होत्से मलमा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति आन्दोलन गर्ने संगठन र सरकारले दिनुपर्ने माग गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष भरत भट्टराईले सरकारले ४८ घण्टाभित्र मोबाइल व्यवसायीहरुका माग सम्बोधन नगरे देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन ।
उनले १५ घण्टा हुँदासम्म राज्य घटनाप्रति मौन बस्नुले व्यवसायीहरुको पक्षमा सरकार छैन भन्ने भएको बताएका छन । सरकारले पसल लुटपाट पर्नेहरुको अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन भट्टराईले माग गरे ।
अध्यक्ष भट्टराईले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिएका छन । उनले सोमबारको घटनाबाट मुलुकको सुरक्षा व्यवस्था कति कमजोर छ भन्ने पुष्टि हुने भन्दै घटनाको सम्पूर्ण क्षतिपूर्ति राज्यले दिनुपर्ने बताएका छन।
त्यस्तै, महासंघका उपाध्यक्ष तथा लुटपाट भएको पसलका सञ्चालक अर्जुन चालिसेले करिब ८ देखि ९ करोड रुपैयाँ बराबरको मोबाइल, पैसा र अन्य सामग्रीहरु लुटिएको बताएका छन ।
उनले सरकारले घटनाबाट भएको क्षतिपूर्ति दिने विश्वास रहेको बताए।