भीम रावलको आक्रोशः रवि लामिछानेलाई गृहमन्त्री बनाउन महाअभियान चलाइँदैछ

काठमाण्डु टुडे २०७९ माघ २१ गते १८:५२ मा प्रकाशित

काठमाण्डु, २१ माघ– एमाले नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन महाअभियान सञ्चालन भइहरेको टिप्पणी गरेका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा रावलले दोहोरो नागरिकता लिएर गम्भीर अपराध गरेका व्यक्तिलाई गृहमन्त्री बनाइन चलखेल गर्नु आपत्तिजनक भएको टिप्पणी गरे । धेरै ठूलो त्याग र बलिदानबाट वर्तमान व्यवस्था आएको भन्दै उनले विवादास्पद व्यक्तिलाई मन्त्री बनाउन बलिदान नभएको तर्क गरे ।

वैदेशिक रोगजार व्यवसायीलाई श्रममन्त्री, निजी स्कुल सञ्चालकलाई शिक्षामन्त्री र दोहोरो नागरिकता लिनेलाई गृहमन्त्री बनाइनु गणतन्त्रको अभिष्ट नभएको रावलको भनाइ थियो ।

‘जसको वैदेशिक रोजगार कम्पनी छ, उसलाई श्रममन्त्री । जसको महंगो निजी स्कुल छ, ऊ शिक्षामन्त्री । जसलाई नागरिकताजस्तो अत्यन्त संवेदनशील राष्ट्रियतासँग गाँसिएको विषयमा दोषी ठहर गरिएको छ, उसलाई खोजीखोजी गृहमन्त्री ?’, रावलले प्रश्न गर्दै भने, ‘के यसरी देशमा साँच्चै सुशासन आउन लागेको हो ? धेरै मानिसले रगत बगाएर हामीले गणतन्त्र ल्यायौं त्यसको अभिष्ट यही थियो ?’ उनले स्वार्थ बाझिने गरी मन्त्री बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन योगदान गरेकाहरुको अवमूल्यन गर्ने काम भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us