
काठमाण्डु,१८ माघ– कांग्रेसका सांसद गगन थापाले कुखुरा पालक किसानका समस्याप्रति सरकार उदासीन रहेको बताएका छन ।
आज (बुधवार) प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन । उनले ऋणमा रहेका कुखुरा पालक किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण समेत गरएका छन ।
उनले भने– ‘सयौँको सङ्ख्यामा साना किसानहरू कृषि मन्त्रालय धाइरहेका छन् । उनीहरू त्यहाँ पुग्छन्, रुन्छन्, कराउँछन् । यी तिनै किसानहरू हुन् जसले बैङ्कबाट ऋण लिएर कुखुरा फार्महरू चलाएका छन् ।
बर्डफ्ल्युको जोखिम न्यूनीकरण गर्नका लागि सरकारकै निर्णयबाट उनीहरूको कुखुरा फार्म नष्ट गरियो । नियमअनुसार यिनीहरूले पाउनुपर्ने क्षतिपूर्ति ५८ करोड छ । सरकार दिन्न भन्दैन, दिन्छु भन्छ तर दिँदैन ।
सरकार झुलाउँछ । किन सरकारलाई भ्याई नभ्याई छ ? तर बैङ्कले यिनीहरूलाई अठ्याउँछ । मेरो सरकारलाई प्रश्न छ बैंकको ऋणले थिचिएका साना किसानहरूले कुनै अप्रिय निर्णय नगर्दासम्म कुर्ने हो ?’