अनेरास्ववियुले गर्‍यो जनक शिक्षा सामाग्री केन्द्र घेराउ

काठमाण्डु टुडे २०७९ माघ १८ गते १४:३० मा प्रकाशित

काठमाण्डु,१८ माघ– नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले जनक शिक्षा सामाग्री केन्द्रमा घेराउ गरेका छन । उनीहरुले सानोठिमी भक्तपुरस्थित केन्द्रको कार्यालयमा पुगेर घेराउ गर्नुका साथै प्रदर्शन गरेका छन ।

उनीहरूले केन्द्रका प्रबन्ध निर्देशकको राजीनामा समेत मागेका छन । जनक शिक्षाका प्रबन्ध निर्देशकका कारण संस्था धरासायी भएको भन्दै उनीहरूले राजीनामा माग गरेका हुन ।

साथै केन्द्रभित्र भ्रष्टाचार भइरहेको भन्दै त्यसको छानविन गर्न समेत उनी हरुले माग गरेका छन । प्रदर्शन गर्न पुगेका उनीहरूले केन्द्रको गेटको ताला फोडेर भित्र प्रवेश गरेका थिए ।

त्यही क्रममा प्रहरीले बल प्रयोग गरेर उनीहरूलाई बाहिर निकालेको थियो । अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षाले पाठ्यपुस्तक छाप्न नसक्ने तर निजीले छाप्न सक्ने भन्ने कुरामा नै त्यहाँभित्र कमिसन र भ्रष्टाचार भएको बताएका छन ।

सरकारले कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक निजीलाई छाप्न दिने निर्णय गरेको छ । उक्त निर्णयको विरोधमा अनेरास्ववियुले आन्दोलन गर्दै आएको छ । अनेरास्ववियुले ४५ मिनेट धर्ना दिएर कोणसभा गर्दै कार्यक्रममा गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us