
काठमाण्डु, १६ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गृहमन्त्री को बन्छ भन्नेबारे बनेपछि थाहा हुने बताएका छन् ।
माओवादी केन्द्रको पदाधिकारी बैठकपछि सोमबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडाबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले त्यस्तो बताएका हुन् । गृहमन्त्री कसलाई बनाउनुहुन्छ ? भन्ने सञ्चारर्मीको जवाफमा उनले भने, ‘बनेपछि थाहा पाउनुहुन्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अदालतले गैरनागरिक ठहर गरेपछि गृहमन्त्रीबाट बर्खास्त भएका थिए । गैरसांसदकै हैसियतमा पुनः गृहमन्त्रीमा लामिछानेले दाबी गरेका छन् । सत्तारुढ घटक एमाले अध्यक्ष केपी ओलीले पनि लामिछानेलाई पुनः मन्त्री बनाउन प्रचण्डलाई दबाब दिएका छन् ।
ओली र लामिछाने दुवैले आइतबार प्रधानमन्त्रीलाई बालुवाटारमा भेटेका थिए । तर, प्रचण्डले दोहोरो राहदानीको विषय टुंगो नलागेकाले लामिछानेलाई पुनः मन्त्री नियुक्त गर्न नसकिने जवाफ दिएका छन् ।
लामिछानेले एकै समयमा नेपाली र अमेरिकी दुवै नागरिकता र पासपोर्ट लिएको सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार फैसला गरेको थियो ।