प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसक्नु कांग्रेसको गल्ती हो: चन्द्र भण्डारी

काठमाण्डु टुडे २०७९ माघ १६ गते १७:२३ मा प्रकाशित

काठमाण्डु,१६ माघ– कांग्रेस नेता डा चन्द्र भण्डारीले नेपालको राजनीति र नेपाली नेताहरुको चिन्तनमा अत्यन्त बचपना रहेको बताएका छन ।

आफूहरुले जेल र यातना सहेर बहुदल ल्याएको ३२ वर्ष भइसक्दा पनि नेताहरुको सत्ताको मानसिकता र आन्तरिक द्धन्द्धका कारण मुलूकलाई नराम्रो असर पारेको बताएका छन ।

आज (सोमबार) राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले भने, ‘नेपाली राजनीतिमा नेताहरुको चिन्तन अत्यन्तै बचपन छ । यसरी मुलूक बन्दैन ।

३२ वर्ष भयो हामीले बहुदल ल्याएको । हामी जेल बसेको, यातना खाएको यो मूलुक रुपान्तरण गरौंला भन्ने थियो । जहिलेसुकै सत्ताको कुरा र द्धन्द्धको कुरा यसले मुलूकलाई डुबायो । ’

विगतका सोचाई बोकेर अझै हिँडिरहे अर्को ३२ वर्षमा पनि यो मुलूक नबन्ने उनको दाबी छ । साथै, मनमोहन प्रधानमन्त्री हुँदापनि आफूहरुले विश्वासको मत दिएको स्मरण गर्दै उनले त्यसबेला मनमोहनलाई समर्थन नगर्दा मध्यावधि निर्वाचनमा जानुपर्ने भएको र मुलुकको धेरै खर्च हुने भएकाले समर्थन गरेको बताएका छन ।

उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेस प्रतिपक्षमा बस्न नमिल्ने भन्ने अहिलेको बहसलाई लक्षित गर्दै उनले दीर्घकालीन सोचका आधारमा यो निर्णयमा कांग्रेस पुगेको र संसारका दर्शन र सिद्धान्त सधैंका लागि नहुने बताएका छन ।

माओवादीसँगको गठबन्धनमा निर्वाचनमा जाँदै गर्दा जनतासँग गरेको वाचा पुरा गर्न कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएको उनले बताएका छन । प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसक्नु कांग्रेसको गल्ती भएको उनको स्विकारोक्ति थियो ।

अहिलेको सरकारलाई खिचडी सरकारको संज्ञा दिँदै उनले यस विषयमा धेरै विवाद गर्न आवश्यक नरहेको बताएका छन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गतिशील नेता भएको उल्लेख गर्दै नेता भण्डारीले अहिलेको सत्ता गठबन्धन पनि धेरै समय नटिक्ने बताएका छन । उनले प्रचण्ड जता पनि टर्न लिनसक्ने नेता भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us