प्रचण्डसँग रविको मागः भागबण्डा गर्दा गृह मन्त्रालय हामीलाई परेको हो, मलाई मन्त्री बनाउनुस्

काठमाण्डु टुडे २०७९ माघ १६ गते ८:३७ मा प्रकाशित

काठमाण्डु, १६ माघ– सर्वोच्च अदालतले अनागरिक ठहर गरेसँगै प्रतिनिधिसभा सदस्य, उपप्रधान तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट हटेका रवि लामिछानेले आफूलाई पुनः गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएका छन् ।

लामिछानेले आइतबार साँझ सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका थिए । त्यस क्रममा लामिछानेले आफूले पुनः नागरिकता प्राप्त गरिसकेकाले ६ महिनाका लागि गैरसांसद नियुक्ति गर्न भनेका थिए । सत्तारुढ गठबन्धनबीचको सहमतिमा आफ्नो दलको भागमा गृह मन्त्रालय परेको भन्दै उनले प्रधानमन्त्रीलाई तत्काल मन्त्री नियुक्त गर्न भनेका थिए ।

‘सरकारमा सहभागी दलहरुबीच भागबण्डा गर्दा गृह मन्त्रालय हाम्रो भागमा परेको हो’, लामिछानलेलाई उद्धृत गर्दै बालुवाटार श्रोतले भन्यो, ‘मलाई ६ महिनाका लागि गृहमन्त्री नियुक्त गर्नुस् ।’ उनले आफू ६ महिनाभित्र चितवन–२ बाट उपनिर्वाचन जितेर प्रतिनिधिसभा सदस्य बन्ने पनि बताए ।

लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाण्डुबाट अमेरिकी नागरिक भएपछि निस्क्रिय भएको पुरानो नागरिकता सक्रिय बनाएका थिए । त्यसलगत्तै बसेको रास्वपा बैठकले लामिछानेलाई पुनः सभापति चयन गरेको थियो । बैठकले गृह मन्त्रालय आफ्नो भागमा परेकाले स्वतः आफूले पाउनुपर्ने निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us