संसदको क्यान्टिनमा सांसदहरुका लागि बनाइएको छुट्टै कक्ष तत्काल हटाउन निर्देशन

काठमाण्डु टुडे २०७९ माघ १० गते १८:३० मा प्रकाशित

काठमाण्डु, १० माघ– राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँबानेश्वरस्थित संघीय संसद् भवनको चमेना गृहमा सांसदहरुका लागि बनाइएको छुट्टै कक्ष हटाउन निर्देशन दिएका छन् ।

तिमिल्सिनाले संघीय संसद सचिवालयका उच्च अधिकारीहरुलाई सांसदहरुलाई भनेर बनाइएको छुट्टै कक्ष तत्काल हटाउन मौखिक निर्देशन दिएका हुन् । बैठक बस्ने भवनको पछाडि सहरी विकास मन्त्रालयले चमेना गृह निर्माण गरेको थियो ।

चमेना गृहमा सांसदहरु छुट्टै बस्ने व्यवस्थाका लागि दुई वटा भीआईपी कक्ष यसअघि नै राखिएको थियो । त्यसको अलावा चमेना गृहलाई बारेर सांसदहरुका लागि मात्र नयाँ कक्ष बनाइएको छ । यसअघि मन्त्री, सांसद, उनीहरुका सहयोगी, सञ्चारकर्मी, चालक र सुरक्षाकर्मी सबैका लागि बस्ने एउटै हल थियो ।

अध्यक्ष तिमिल्सिनाले सांसदहरुलाई समाजबाट अलग गर्न नमिल्ने भन्दै पत्रकारसहित सञ्चारकर्मीसँग बसेर खाँदा केही नबिग्रने भएकाले तत्काल पार्टेसन हटाउन निर्देशन दिएका हुन् । ‘सांसद फरक र समाजका अरु मानिस फरक हुन सक्दैनन्’, तिमिल्सिनाको निर्देशन उद्धृत गर्दै संसदका एक उच्च अधिकारीले भने, ‘पार्टेशन तत्काल हटाएर मलाई खबर गर्नु ।’

यसअघि पनि केही वर्षअघि सांसदहरुका लागि छुट्टै व्यवस्था गरिएको थियो । प्रतिनिधिसभा बैठकमा केही सांसदले नै आपत्ति जनाएपछि हटाइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us