सिरियाको एक आवासीय भवन भत्कँदा १६ जनाको मूत्यु

काठमाण्डु टुडे २०७९ माघ ९ गते ११:४७ मा प्रकाशित

एजेन्सी– सिरियाको दक्षिणी प्रान्तमा अलेपोमा रहेको एक आवासीय भवन भत्कँदा कम्तीमा पनि १६ जनाको मूत्यु भएको छ । यहाँको एउटा साततले भवन भत्कँदा ती मानिसको मृत्यु भएको बताइएको छ ।

त्यस दुर्घटनामा पाँच जना बालबालिका पनि परेका छन् । उक्त भवनमा सात परिवार बसेका र ती परिवारका गरेर १६ जनाको मूत्यु भएको प्रहरीले बताएको छ ।

सो स्थानका स्थानीय बासिन्दाले उक्त भवनमा ३५ जनाको बसोबास रहेको जानकारी दिएका छन । भवनका भग्नावशेषबाट एक जनालाई मात्र जीवित उद्धार गरिएको छ । प्रहरीले मृतकको सङ्ख्या अझै बढ्नसक्ने बताएको छ ।

सो भवनको भग्नावशेषमा पुरिएको आशङ्कामा उद्धारको काम जारी रहेको यहाँको सरकारी समाचार समिति सानाले जानकारी दिएको छ ।

एक दशकभन्दा लामो समयदेखि जारी युद्धका कारण उत्तरी जिल्ला अफ्रिनबाट विस्थापित भएका सिरियाली नागरिक उक्त भवनमा बस्दै आएका सिरियाली गृह मन्त्रालयका अधिकारीले जानकारी दिएका छन ।

सिरियामा जारी द्वन्द्वमा परी करिब पाँच लाख नागरिकको ज्यान गइसकेको छ । अधिकांश विस्थापित सिरियाली यस्तै कमजोर प्रकृतिका भवनमा बस्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us