
काठमाण्डु, १ माघ– राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रुपमा रहेका पर्वहरुले मुलुकलाई विश्वसामु परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन् ।
माघे संक्रान्ति एवं माघी पर्वका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्याएको विश्वास व्यक्त गरेकी हुन् ।
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वले सम्पूर्ण नेपालीको बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्वास राष्ट्रपतिको छ । उनले माघे संक्रान्ति र माघी पर्वले प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न सबैलाई प्रेरण मिलोस् भन्ने कामना गरिन् ।
माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै ढंगले हर्षोल्सासपूर्वक मनाउने गरेको स्मरण राष्ट्रपतिले गरेकी छन् । विशेष गरी थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा धुमधामसँग मनाइन्छ भने तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउने गरेको उनले बताइन् ।
उनले पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन ।