प्रचण्ड नेतृत्वको सरकारमा लेसपा पनि सहभागी हुने

काठमाण्डु टुडे २०७९ पुष २९ गते १६:१२ मा प्रकाशित

काठमाण्डु,२९ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी लेसपा नेपाल पनि सहभागी हुने भएको छ ।

यस विषयमा प्रधामन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग कुराकानी समेत भइसकेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतसमेत दिएको लोसपाले सरकारमा सहभागी हुनका लागि दुई वटा मन्त्रालय माग गरेको छ ।

तर लोसपालाई एउटा मन्त्रालय दिने सत्ता गठबन्धनको तयारी छ । लोसपाका एक नेताले भने, ‘प्रधानमन्त्री प्रचण्डले नै अध्यक्षज्यू (महन्थ ठाकुर)लाई फोन गरेर सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ, सरकारमा जाने विषयमा अध्यक्षज्यू सकारात्मक हुनुहुन्छ ।’ सरकारमा जानुअघि लोसपाले सरकारसँग केही विषयमा सम्झौता गर्न चाहेको छ ।

गठबन्धनमा मन्त्रालयको बारेमा टुङ्गो लागेपछि लोसपासँग सरकारले कुराकानी गर्ने बताइएको छ । लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले आफूहरु सरकारमा जान तयार रहेको तर त्यसका लागि सरकार पनि तयार हुनुपर्ने बताए ।

‘सरकारलाई समर्थन गरिसकेपछि सत्ता पक्ष नै भयौं तर सरकारमै जाने गरी उताबाट पनि सकारात्मक प्रतिक्रिया आउनुपर्छ,’ उनले भने, ‘हामी सरकारमा त्यत्तिकै सहभागी हुँदैनौं, हाम्रा पनि माग र मुद्दा छन् ।

त्यसको बारेमा सरकारले के गर्छ, त्यो कुराको पनि टुङ्गो लगाउनुपर्छ ।’लोसपा मधेस प्रदेश सरकारमा पनि सहभागी हुने बताइएको छ । केन्द्रमा सहभागी हुने भएपछि मधेस सरकारको बारेमा पनि छलफल गरेर टुङ्ग्याउने भण्डारीले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us