ओली सिद्धान्त र ओलीवादका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा पर्यो: घनश्याम भुसाल

काठमाण्डु टुडे २०७९ पुष २९ गते १५:२१ मा प्रकाशित

काठमाण्डु,२९ पुस– पूर्वएमाले नेता घनश्याम भुसाल माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको स्वघोषणा गरेका छन् ।

आज (शुक्रबार) काठमाण्डुको एक होटलमा पत्रकार सम्मेलन गर्दै नेता भुसालले नेकपा एकीकृत समाजवादी प्रवेश गरेको घोषणा गरेका छन ।

भुसालले एकीकृत समाजवादी सैद्धान्तिक वैचारिक रूपमा तत्कालीन नेकपाको खास उत्तराधिकारी रहेकाले आफूले यो पार्टी रोन्नु परेको बताएका छन ।

४ मङ्सिर भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेबाट निर्वाचन टिकट नपाएपछि रुपन्देही–१ स्वतन्त्र उम्मेदवारी दिएका भुसाल एमाले उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।

भुसालले नेकपा एकीकृत समाजवादीले वाम एकताका लागि गठन गरेको वार्ता समितिसमक्ष ५ बुँदे प्रस्ताव राखेका थिए । भुसालको प्रस्तावलाई एकीकृत समाजवादीले स्वागत गरेपछि उनी पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेशको घोषणा गर्दै भुसालले नेकपा विभाजनका कारण मुलुकले समृद्धि र विकास गर्ने अवसर गुमाउनु परेको बताए । ‘ओली सिद्धान्त, ओलीवाद र ओली संगठनका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको छ ।

 यस तर्कमा म बहस गर्न जहिल्यै तयार छु’, उनले भने, ‘यस्तो अवस्थामा म नेकपा एमालेमा रहन सकिनँ ।’उनले एमालेले जनताको बहुदलीय जनवादको हुर्मत लिएको आरोप समेत लगाएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us