
काठमाण्डु,२९ पुस– काँग्रेस सांसद एवं पूर्वमन्त्री जितेन्दनारायण देवले कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई तत्काल रिहाई गर्न सरकारसँग माग गरेका छन ।
आज (शुक्रबार) राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन । उनले टीकापुर घटना राजनीतिक घटना भएकाले पनि रेशम चौधरीलगायतका बन्दीहरुलाई तत्काल रिहाई गरेर सरकारले न्याय दिनुपर्ने बताएका छन ।
उनले मुलुकको राजनीतिक आन्दोलनमा धेरै मान्छेहरु मारिए पनि उनीहरुले न्याय पाएको तर टिकापुर घटनामा परेकाहरुले भने न्याय नपाएको भन्दै आक्रोश समेत व्यक्त गरेका छन ।
उनले भने, ‘यो मुलुकमा धेरै ठूल्ठूला आन्दोलनहरु भए । ठूल्ठूला आन्दोलनको नेतृत्व कहिले नेपाली काँग्रेसले ग¥यो, कहिले माओवादीले ग¥यो । यो देशमा मधेश आन्दोलन भयो ।
यो देशमा थारु आन्दोलन भयो । यो देशमा पहिचानका आन्दोलनहरु भए । यो देशमा समानताका आन्दोलनहरु भए । हरेक आन्दोलनहरुमा मान्छेहरु मारिएका छन ।
स्वतस्फूर्त आन्दोलनहरुमा मान्छेहरु मारिएका छन । तर हरेक बेलामा यहाँ न्याय भएको छ । राजनीतिक आन्दोलनलाई अपराधिक आन्दोलन भनिएन ।
त्यसकारण थारुहरुले गरेको आन्दोलन कैलालीमा भएको आन्दोलन थारुहरुले गरेको आन्दोलन राजनीतिक आन्दोलन थियो । अन्याय भएको छ–रेशम चौंधरीमाथि ।
अन्याय भएको छ थारुहरुमाथि । त्यसलाई करेक्शन गर्नु पर्दछ भनेर म माग गर्न चाहन्छु ।’ सांसद देवले संविधानको रक्षा गर्नका लागि काँग्रेसले सरकारलाई विश्वासको मत दिनु परेको स्पष्टीकरण समेत दिए ।