२० लाख धरौटी बुझाएर छुटे सन्दीप लामिछाने

काठमाण्डु टुडे २०७९ पुष २९ गते १४:३७ मा प्रकाशित

काठमाण्डु ,२९ पुस- बलात्कार आरोप लागेका क्रिकेटर पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन् ।

शुक्रबार उच्च अदालत, पाटनले तोकेको पाँच बुँदे सर्त पालन गर्ने प्रतिबद्धतासहित २० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताएका छन । अब मुद्दाको बाँकी प्रक्रिया सन्दीपले बाहिर बसेर पूरा गर्ने बतायको छ।

सन्दीप धरौटीमा छुटेपनी उनलाई विदेश जान रोक लगाएको छ यस्तै उपत्यका छाड्न पनि रोक लगाएको छ । उपत्यका छाड्नुपर्ने भए जिल्ला प्रहरी परिसर, काठमाण्डुलाई लिखित जानकारी दिनुपर्ने छ ।

त्यस्तै पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टिकाटिप्पणी गर्न पनि निषेध गरेको छ । लामिछानेलाई पीडितको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्न बन्देज लगाएको छ ।

आदेशमा भनिएको छ, ‘पीडितको परिवारको सदस्यलाई कुनै पनि माध्यमबाट कुनै पनि किसिमको डर, त्रास, धम्की वा दबाब दिने, प्रभाव पार्ने वा दुरुत्साहन दिने वा सोसम्बन्धी कुनै कार्य नगर्नु, नगराउनु भनी प्रतिवादीलाई निषेधात्मक आदेश दिइएको छ ।

लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाण्डु जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us