
नेपालगञ्ज, २१ पुस– नेपालगञ्जमा दादुराका बिरामी बालकको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–५ का ३१ महिनाका बालकको मृत्यु भएको हो । बालकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।
चन्दका अनुसार बालकमा उच्च ज्वरो तथा शरीरका विभिन्न भागमा फोका आउनेजस्ता समस्या देखिएका थिए । सोही वडामा अरु ८ बालकालिकामा दादुराको लक्षण देखिएको उनले बताए ।
आशंका लागेर परीक्षण गर्दा ती बालबालिकामा दादुरा पुष्टि भएको थियो । बुधबारसम्ममा उपमहानगरका ५, ७ र ८ नम्बर वडामा २५ जना दादुराजस्तै लक्षणका बिरामी भेटिएका छन् । ती सबैलाई दादुराविरुद्धको खोप लगाइसकिएको चन्दले जानकारी दिए ।