
काठमाण्डु,१७ पुस– नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको प्रस्ताव आएको विषयमा सत्यता नभएको बताएका छन् ।
आज (आइतबार) पार्टी कार्यालयमा स्थायी कमिटीको बैठकबारे जानकारी दिन पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन । उनले एमालेबाट यति ठूलो प्रस्ताव आउने विषय पत्याउन नसकिने बताएका छन ।
उनले भने,‘ यो कुराले अहिलेसम्म हाम्रो बैठकमा प्रवेश भएको छैन । कहाँबाट, कसरी आयो हावामा आयो, हावामा नै गयो जस्तो लाग्छ’ एमालेका तर्फबाट फेरि माधवकुमार नेपाल, एकीकृत समाजवादीको अध्यक्षलाई यस्तो ठूलो प्रस्ताव यति छिटै, सजिलोसँग राख्लान् भन्ने मलाई लाग्दैन र गरेको हो भन्ने पनि मलाइ लाग्दैन ।’
उनले यदि यो विषयमा कतै चर्चा भएको भए एकीकृत समाजवादीको कार्यकर्तालाई भ्रममा राख्ने कोशिसमात्र भएको बताएका छन । उनले एमालेसँग पार्टी एकताको कुरा पनि हल्ला मात्रै भएको बताएका छन ।
उनले भने,‘पार्टी एकताको कुरा एमालेका केही मान्छेले मात्रै हल्ला चलाएका हुन्, यसमा हामी भ्रममा पर्न हुँदैन’ ‘एकता हुन्छ भनेर हाम्रो कार्यकर्तालाई भुलभुलैयामा राख्ने कोशिस भएको छ ।’
साथ साथै उनले माओवादी र जनता समाजवादीसँग पनि एकताको कुरा अगाडि नढेको बताएका छन । उनले आफ्ना केही नेताले अनौपचारिक कुरा गरेको भए पनि औपचारिकरुपमा त्यस्तो कुनै निर्णय नभएको पनि बताएका छन ।
उनले चुनावअघि नेकपा माओवादी केन्द्रबाट एकताको प्रस्ताव आएकाले आफूहरुले समिति बनाएको तर माओवादी नै त्यसमा धेरै अग्रसर नभएकाले यसबारे केही कुरा नभएको बताए ।
पार्टीको स्थायी समिति बैठकमा वर्तमान राजनीति, वर्तमान गठबन्धनलाई कसरी हेर्ने, सरकारमा जाने, या नजाने, पार्टी एकताका बारेमा चलेका चर्चाबारे स्थायी समिति सदस्यहरुलाई धारणा राख्न दिइएको थियो ।
बैठकमा अहिलेसम्म ३० जनाले धारणा राखेको जानकारी दिँदै तुलाधरले धेरैको मत सरकारलाई सर्मथन गर्ने तर सरकारमा जान नहुने भन्ने खालको रहेको बताएका छन ।