एमालेले प्रतिगमनलाई पराजित गर्‍यो: केपी ओली

काठमाण्डु टुडे २०७९ पुष ९ गते १४:२१ मा प्रकाशित

काठमाण्डु,९ पुस– पुर्व प्रधानमन्त्री एवंम् एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले पार्टीले प्रतिगमनलाई पराजित गर्दै जनताको लोकप्रिय पार्टीका रूपमा आफूलाई उभ्याउन सफल भएको बताएका छन् ।

आज (शनिबार) प्युठान–काठमाण्डु सम्पर्क मञ्चद्वारा राजधानीमा आयोजित प्युठानबाट निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

ओलीले निर्वाचनअघि एमालेविरुद्ध प्रतिगमनको हल्ला चलाइएकोमा पार्टीले त्यसलाई चिर्न सफल भएको बताएका छन । ओलीले भने, ‘अघिल्लो निर्वाचन र स्थानीय तहको निर्वाचनको नतिजाले एमालेले गठबन्धनलाई पराजित गर्ने देखिँदैन थियो ।

तर हामी जनतामा एकजुट भएर गयौँ भने हामी जित्न सक्छौँ भन्ने दृष्टान्त प्युठानले प्रस्तुत भएको छ । हामीले प्रतिगामी तत्त्वहरूलाई पराजित गर्यौ । प्रतिक्रियावादीको साँठगाँठलाई र अरूका इसारामा चल्ने शक्तिलाई पराजित गरेका छौँ ।’

आलीले एमालेलाई सेटिङमा पार्टी फुटाएर सिध्याउँछु भन्ने षड्यन्त्र भए पनि त्यो असफल भएको बताएका छन । उनले भने, ‘अदालतले पार्टी फुटाउन भनेको थिएन । नयाँ पार्टी दर्ता गर भनेको थियो । मैले धेरैपटक कोसिस गरेँ ।

तर पार्टी फुटाउने उद्देश्य लिएकाहरूले नयाँ दल दर्ता गर्न मानेनन् । त्यसैले म भन्छु, अदालतले होइन, पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनालहरूले पार्टी फुटाएका हुन् ।’

आफ्नै पार्टी अध्यक्ष, दलको नेता र प्रधानमन्त्रीविरूद्ध ल्याइएको १९ पृष्ठ लामो अभियोग पत्रबाट पार्टी विभाजनको षडयन्त्रको खेल सुरु गरिएको उनले बताएका छन ।

‘तर हामीले पार्टीलाई रक्षा मात्र गरेनौँ, हाम्रो पार्टी जनप्रिय पार्टी हो भनेर हामीले प्रमाणित गर्‍यौँ,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us