आज सांसदहरुको सपथ, अधिवेश आह्वान भएपछि सभामुखको चुनाव

काठमाण्डु टुडे २०७९ पुष ७ गते ८:४३ मा प्रकाशित

काठमाण्डु, ७ पुस– संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्ने बताएका छन् ।

प्रवक्ता पाण्डेले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने बताए । उनले संसद भवनमा १ बजेका लागि नवनिर्वाचित सांसदहरुको शपथग्रहण हुने जानकारी दिए । बानेश्वरको आइसीसी हलमा सांसदहरुको शपथग्रहण ज्येष्ठ सदस्य पशुपति समशेर जबराले गराउने बताए । उनले मातृ भाषामा शपथग्रहण गर्न चाहने सांसदले पूर्वसूचना दिएपछि मात्रै मातृभाषामा शपथग्रहण गराइने बताए ।

‘हिजो प्रतिनिधि सभाका ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथग्रहण गर्नुभएको छ । आज १ बजे हामीले सम्पूर्ण प्रतिनिधि सभाका मान्य सदस्यज्युहरुको लागि शपथग्रहण कार्यक्रम बानेश्वरको आइसीसी हलमा आयोजना गरेका छौँ’, उनले भने, ‘यसको लागि ज्येष्ठ सदस्यले भोलि १ बजे शपथग्रहण गराउनु हुनेछ । यो बीचमा उहाँहरुले प्रमाणपत्र ल्याएर भेरिफिकेशन गर्ने काम रहन्छ, उहाँहरुलाई हामी लोगो उपलब्ध गराउँछौँ । त्यसपछि उहाँहरु कार्यक्रम सभास्थलमा प्रवेश गर्नुहुन्छ ।’

शपथग्रहणपछि संसदीय गतिविधि औपचारिक रूपमा अघि बढ्ने भन्दै उनले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया १५ दिन भित्र सम्पन्न गर्ने गरी कानूनमा व्यवस्था भएको हुनाले त्यही अनुसार एजेण्डा अघि बढ्ने बताए ।

प्रवक्ता पाण्डेले शपथ ग्रहणपछि संसदमा सहभागी राजनीतिक दलहरुले संसदीय गतिविधिहरु औपचारिक रुपमा अघि बढाउन सक्ने पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us