
काठमाण्डु,६ पुस– प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बस्ने गरी भालीको लागी सर्वदलीय बैठक आह्वान भएको छ ।
बिहीबार दिउँसो एक बजे प्रतिनिधिसभा सदस्यहरुको शपथ छ । त्यसभन्दा अगावै १२ बजे बस्ने गरी संघीय संसद सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएको हो ।
सांसदहरुको शपथग्रहण प्रक्रिया लगायत बैठक बस्नुपूर्व तयारीका सम्बन्धमा बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल (१२ दल) का नेताहरुलाई बोलाइएको संसद सचिवालयका एक अधिकारीले जानकारी दिए । प्रत्येक दलबाट एकरएक जना र ५ स्वतन्त्र सांसदलाई सर्वदलीय बैठकमा बोलाइएको छ ।
बैठकमा शपथसम्बन्धी कार्यक्रमको ब्रिफिङ र सांसदले पाउने सेवा सुविधालगायत विषयमा महासचिव र कार्यव्यवस्था महाशाखाका अधिकारी सांसदहरुलाई जानकारी दिनेछन् ।