
काठमाण्डु,४ पुस– नेपाली कांग्रेसका सभापति एवंम् प्रधानमन्त्री शेरबहादुर देउवाले नगरहरुलाई मौलिकता जोगाउँदै व्यवस्थित शहर र आर्थिक कारोबारको केन्द्र बनाउन सुझाव दिएका छन् ।
आज (सोमबार) नेपाल नगरपालिका संघको ८ औं राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । उनले नगरपालिकालाई आफ्नो मौलिकता जोगाउँदै दिगो र वातावरणमैत्री बनाउनु पर्ने बताएका छन ।
उनले भने, काठमाण्डु लगायत सबै नगरहरुलाई दिगो र वातावरणमैत्री विकासको अवधारणाबाट अघि बढाउनुपर्छ । तसर्थ सबै प्रतिनिधिहरुलाई वातावरणमैत्री शहरको अवधारणाअनुसार दिगो विकासको मोडेल अवलम्बन गर्न सुझाव दिन चाहन्छु’ ।
शहरहरु दिनानुदिन असुरक्षित र अस्वच्छ आवास क्षेत्रको रुपमा परिणत भइरहेको भन्दै देउवाले यसले नगरको प्रकृति, सौन्दर्य र मौलिकतामा आघात पुगिरहेको बताए ।
उनले सम्भाव्य स्रोतको पहिचान र उचित परिचालन गरी स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजान पर्नु बताएका छन ।
स्थानीय सरकारले गरेका काम र प्रदान गरेका सेवाको आधारमा जनताले सरकारप्रतिको धारणा निर्माण गर्ने हो, नगरपालिकाहरुले जनताको विश्वास र मन जित्नेगरी काम गर्न सक्नुपर्छ’ उनले भने, ।
उनले देशका आधुनिकीकरण र दिगो विकासका लागि सुव्यवस्थित नगर पूर्वाधार सेवाहरु, योजनावद्ध आवास, सुन्दर बाटोघाटो, स्वच्छ खानेपानी, ढल, पुलपुलेसा, हरियाली क्षेत्र र सरसफाइ आदिको समुचित प्रबन्ध गर्न आवश्यक रहेको बताएका छन ।