इलाम–१ मा धाँधली गरेर मलाई चुनाव हराइयो: झलनाथ खनाल

काठमाण्डु टुडे २०७९ मंसिर २९ गते १२:१५ मा प्रकाशित

काठमाण्डु,२९ मंसिर– इलाम–१ बाट पराजित भएका नेकपा एकीकृत समाजवादीका सम्मानी नेता झलनाथ खनालले धाँधली गरेर आफूलाई हराइएको बताएका छन् ।

पुनः मतदान गराउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा निवेदन दिएका खनालले आफ्नो निकटतम प्रतिस्पर्धीसँग मिलेर निर्वाचन अधिकृत र अरु कर्मचारीले आफूलाई पराजित गराएको बताएका छन ।

उनले वारेशमार्फत सर्वोच्च अदालतमा पेस गरेको निवेदनमा भनिएको छ, ‘निर्वाचन अधिकृत तथा मतदान अधिकृतको अन्यायपूर्ण र पक्षपाती निर्णय र कार्यले निर्वाचन निष्पक्ष नभएकाले मेरो संवैधानिक, कानूनी, नागरिक एवं राजनैतिक अधिकारको हनन् भएकाले पक्षपातपूर्ण निर्वाचन बदर गरी पुनः निर्वाचन गराउने गरी इन्फास हुन अदालतमा आएको छु ।’

खनालले ५९ हजार ३७९ मत खसेकोमा गन्ने बेलामा ५९ हजार ७०५ मत पाइएकोले धाँधली भएको पुष्टि हुने दाबी गरेका छन् ।

उनले स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन हुन नसकेको बताएका छन । खनालले आफुलाई विभिन्न १० तरिकाले पराजित गरिएको बताएका छन ।

निर्वाचन सामग्री प्रयोगमा बाधा व्यवधान भएको, मतपत्रको दुरुपयोग भएको, नगद वा जिन्सी लाभ लिई मतदान गर्न प्रेरित गरिएको, मतदाता नै नभएकालाई मतदान गर्न दिइएको, पटक पटक मतदान भएको उनको आरोप छ ।

इलाम–१ मा एमाले उम्मेदवार महेश बस्नेत २५ हजार ७५३ मतसहित निर्वाचित भएका थिए भने एकीकृत समाजवादीका उम्मेदवार खनालले २३०८९ मत प्रप्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us