
काठमाण्डु,२७ मंसिर– निर्वाचन आयोगले प्रदेश १ प्रदेशसभाका लागि समानुपातिक सांसद छनौटको विषय सच्याउन गरेको आग्रह नेकपा एमालेले अस्वीकार गरेको छ ।
आयोगले अल्पसंख्यक कोटाबाट सूची अनुसार सिफारिस नगरेर एमालेले आफूखुसी छानेको विषयमा स्पष्ट पार्न पत्र पठाएको थियो ।
उक्त पत्रको जवाफ आफूहरुले आयोगलाई दिइसकेको नेकपा एमाले प्रदेश १ का अध्यक्ष तुलसी प्रसाद न्यौपानेले जानकारी दिएका छन ।
उनले भने,‘निर्वाचन आयोगले हामीलाई जे कुरा स्पष्ट पार्न भनेर पत्र पठाएको थियो हामीले त्यही अनुसार स्पष्ट पारेर पठाएका छौं यसअघि सिफारिस गरिएको नामावलीमा तलमाथि भएको छैन ।’
प्रदेश १ मा एमालेले पाएको १५ वटा समानुपातिक सिटमा अल्पसंख्यक कोटामा ३ जनाको नाम सिफारिस गर्नुपर्ने थियो । जसमा एमालेले जनजाती पुरुषबाट झापाका नम्बरलाल धिमाललाई पठाएको छ ।
जनजाती महिलाबाट भने उदयपुरकी सिर्जना दनुवार र संखुवासभाकी लहरुमाया जिमी लाई पठाएको छ । यद्यपि जनजाती महिलाको अल्पसंख्यक कोटामा लहरुमाया जिमीको नाम समानुपातिक बन्दसूचीको क्रम मिचेर पठाएपछि आयोगले प्रश्न गरेको हो ।
सूची अनुसार अल्पसंख्यक कोटामा धिमाल र दनुवार पछि एमालेले सुनसरीकी यशोदा कायस्थलाई पठाउनु पर्ने थियो । एमालेको बन्दसूचीमा जनजाति महिलामा जिमीको १९ नम्बर क्रमसंख्या हुँदा कायस्थको १८ नम्बर रहेको छ । यस्तै अल्पसंख्यक तर्फपनि कायस्थको २ र जिमीको ३ छ ।