
काठमाण्डू, १० जेठ-आज शनिबार काठमाण्डूका विभिन्न स्थादमा ५ घण्टासम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै बानेश्वर र रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने क्षेत्रहरूमा विद्युत अवरुद्ध हुने जनाएको हो ।
नियमित मर्मत तथा उपकरण फेरबदलका लागि केही समय विद्युत आपूर्ति रोकिने प्राधिकरणको भनाइ छ ,
बानेश्वर वितरण केन्द्रको कोटेश्वर फिडरमा पर्ने फुलबारी मार्ग क्षेत्रमा ढल्न लागेको विद्युत पोल हटाएर नयाँ पोल राख्नुपर्ने भएकाले उक्त क्षेत्रमा जडित दुई ट्रान्स्फर्मर सटडाउनमा राखिनेछ । सो कार्यका लागि बिहान साढे ११ बजेदेखि दिउँसो २ बजेसम्म फुलबारी मार्ग र कोटेश्वर आसपासका क्षेत्रमा बत्ती काटिनेछ ।
त्यस्तै, रत्नपार्क वितरण केन्द्रअन्तर्गत खिचापोखरी, त्रिपुरेश्वर, भोटेबहाल र न्यूरोड फिडरहरूमा स्विचिङ सर्भिसिङको काम हुने भएकाले ती फिडरमा पर्ने क्षेत्रहरूमा पनि विद्युत आपूर्ति रोकिने छ ।
यी फिडरअन्तर्गत खिचापोखरी डबली, माछा बजार, आरबी कम्प्लेक्स, सिद्धिचरण चोक, सुन्धारा, सेन्ट्रल र महिला जेल क्षेत्र, रङशाला, बागदरबार, पिपलबोट, ओमबहाल, लगन, न्यूरोड, दमकल गेट, वसन्तपुर डवली, झोसे, हनुमानढोका लगायतका स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बत्ती अवरुद्ध रहनेछ ।
प्राधिकरणले काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएमा बत्ती तोकिएको समयभन्दा चाँडै पनि आउन सक्ने जनाएको छ। स्थानीय बासिन्दालाई समयमै वैकल्पिक व्यवस्था गर्न र सावधानी अपनाउन अनुरोध गरिएको छ।