
काठमाण्डू, १० जेठ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेसँग सम्बन्धित पछिल्लो घटनाक्रमपछि सचिवालय र केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।
पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार, शनिबार दिउँसो ३ बजे सचिवालय र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक आयोजना गरिएको छ ।
भौतिक रुपमा केन्द्रीय समिति बैठक आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा पनि बस्ने तय भएको झाले बताए । यो निर्णय रवि लामिछानेविरुद्ध सुप्रिम सहकारी प्रकरणमा आएको सर्वोच्च अदालतको आदेशपछि आएको हो ।
सर्वोच्चले शुक्रबार लामिछानेलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको रिट खारेज गर्दै पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको निर्णय सदर गरेको थियो ।
लामिछाने हाल रूपन्देही कारागारमा थुनामा छन् । उनीमाथि सहकारीको रकम अपचलन आरोपमा मुद्दा चलिरहेको छ ।
रास्वपाले अदालतको निर्णयपछिको अवस्था र सम्भावित राजनीतिक रणनीतिबारे छलफल गर्न यी बैठकहरू आह्वान गरेको हो ।