
काठमाण्डु,२६ मंसिर– गृहमन्त्री बालकृष्ण खाँणले पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकारसँग विभिन्न कोषमा रहेको रकम बजारमा ल्याउन आवश्यक रहेको बताएका छन ।
मन्त्री खाँडले विश्वव्यापी रुपमा अर्थतन्त्रमा परेको असरले नेपालका बैंक वित्तिय क्षेत्र, उद्योग व्यवसायीमात्र नभएर सहकारी क्षेत्रमा समेत असर परेको बताएका छन् ।
सहकारीमा वर्तमान समयमा देखिएको समस्याको सहजीकरण गर्न राष्ट्रिय सहकारी महासंघद्वारा गठित उपसमितिको आयोजनामा आइतबार महासंघ, राष्ट्रिय सहकारी बैंक र नेफ्स्कूनका सल्लाहकारहरुको काठमाण्डुमा बसेको संयुक्त बैठकमा उनले यस्तो बताएका हुन ।
उनले भने, ‘राज्यको विभिन्न कोषमा रहेको रकम खर्च गरेर बजारमा ल्याउने र त्यो रकमको सदुपयोगितामा संवेदनशील हुने हो भने पनि केहि हदसम्म समस्या समाधान हुनसक्छ ।
सहकारी अभियानको पछिल्लो मागको विषयमा सरकार संवेदनशील हुन आवश्यक छ’ । सो छलफलमा महासंघका सल्लाहकार समेत रहेका गृहमन्त्री खाँणले आर्थिक नीति र गतिविधिले मुलुकको सबै क्षेत्र प्रभावित हुँदा सहकारी क्षेत्र पनि प्रभावित भएको बताउँदै जनतासँग प्रत्यक्ष सरोकार राख्ने सहकारीको समस्या सम्बोधनमा आफ्नो पहल रहने बताएका छन ।
उनले भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभामा अझै ठूलो संख्यामा सहकारीकर्मीहरुको प्रतिनिधित्व हुनुपर्नेमा समेत जोड दिएका छन ।