
काठमाण्डु,२६ मंसिर– निर्वाचन आयोगले सामानुपातिक सांसदहरुको सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले ४ मंसिरमा भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट विजयी उम्मेदवारहरुको सूची सार्वजनिक गर्ने तयारी भएको हो ।
आयोगका राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले समानुपातिक सांसदहरुको सूची सकेसम्म आजै सार्वजनिक गर्ने तयारी अनुसार काम भइरहेको बताएका छन । वाग्लेका अनुसार आज समय अपुग भएमा भोलि मंगलबार सूची सार्वजनिक हुने छ ।
दलहरुले समानुपातिक निर्वाचनतर्फ देशभरबाट प्राप्त मतका आधारमा आयोगले सिट बाँडफाँट गर्दछन् । यसअनुसार नेपाली कांग्रेसले ३२, नेकपा एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र ५ जनमत पार्टीले ५र५ सिट समानुपातिकतर्फ पाएका छन् ।
गत शनिबार दलहरुले आफूले पाएको सिट संख्या अनुुसार सांसदहरुको सूची निर्वाचन आयोगमा बुझाएका थिए ।ती सूचीमा अहिले आयोगले छानबिन गरिरहेको छ ।
नमिलेकालाई मिलाउन आयोगले आज अपराह्न ४ बजेसम्मको समय दलहरुलाई दिएको छ ।समानुपातिकको सूची सच्याएर आएपछि निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गर्दै सांसदहरुलाई प्रमाणपत्र वितरण गर्नेछ ।
समानुपातिक सूची घोषणा भएको एक साताभित्र प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने आयोगले बताएको छ ।