काँग्रेसलाई ओलीको प्रस्तावः हामी मिलेर सरकार बनाऔं, साना दलका सटर बन्द गरिदिऔं’

काठमाण्डु टुडे २०७९ मंसिर २६ गते ९:११ मा प्रकाशित

काठमाण्डु, २६ मंसिर– एमाले अध्यक्ष केपी ओलीले काँग्रेसलाई सरकार गठनमा सघाउने बताएका छन् ।

काँग्रेस नेता अर्जुननरसिंह केसीलाई आइतबार साँझ आफ्नै निवास बालकोटमा बोलाएर ओलीले काँग्रेस–एमाले गठबन्धनको सरकार बनाउन प्रस्ताव गरेका हुन् । निर्वाचनको परिणाम आउँदै गर्दा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी कम्युनिष्ट आन्दोलन बचाउन विगतका कमजोरी सच्याउँदै सहकार्यका साथ अघि बढ्न तयार रहेको बताएका थिए ।

केसीले नयाँ सरकार गठन लगायत विषयमा ओलीसँग संवाद भएको बताए । ओलीले दुई ठूला दल मिलेर सरकार बनाउँदा मुलुकमा स्थायित्व कायम हुने भन्दै साना दललाई अनावश्यक ठाउँ दिन नहुनेमा जोड दिएका थिए ।

‘एमाले सरकार गठनका लागि काँग्रेसलाई सहयोग गर्न तयार छ’, ओलीको भनाइ उद्धृत गर्दै श्रोतले भन्यो, ‘साना दलका सटर बन्द गर्न पनि दुई ठूला दल मिल्नुको विकल्प छैन ।’ ओलीले एमालेले बाहिरै बसेर सरकारलाई समर्थन गर्न पनि एमाले खुलै रहेको बताए ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार केसी ४ मंसिरको निर्वाचनमा नुवाकोट–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us