
काठमाण्डु,२५ मंसिर–निर्वाचन आयोगले दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन आजदेखि दुई दिनको समय दिएको छ ।
समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएको हो ।
आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए । ती नामावली भित्रैबाट दलहरुले समानुपातिक सांसदको सूची बुझाउनुपर्छ ।
दलहरुले शनिबार बुझाएको नामावलीले आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता प्रप्त गर्दछन । आयोगका अनुसार नामावलीमा आजैबाट छानबिन सुरु भएको छ ।
यदि क्लष्टर नमिलेको भए सच्याएर पुनः पेस गर्न दलहरुलाई आजै पत्राचार गर्न आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन ।
आयोगका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार दलहरुले यसअघि बुझाएको समानुपातिक उम्मेदवारहरुको बन्दसूचीभित्रैबाट नाम परेरनपरेको र महिला, अल्पसंख्यक तथा पिछडिएका वर्गको प्रतिनिधित्व भएरनभएको छानबिन गरिने छ ।
आयोगका अनुसार २९ मंसिरमा राष्ट्रपतिलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सबै परिणामको प्रतिवेदन बुझाउने तयारी भईरहेको छ ।