
काठमाण्डू, १० जेठ– सर्लाही जिल्लाको बागमती नगरपालिका–१, पानीट्याङ्की चोक नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते दुर्घटना भएका छन ।
आज (शनिबार) बिहान करिब ८ बजेतिर पूर्वतर्फ जाँदै गरेको बालुवा लोड टिपरले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए ।
दुर्घटनापछि घाइतेहरूलाई तत्काल हरिवनस्थित नमुना अस्पतालमा लगिएको थियो । प्रारम्भिक उपचारपछि दुवैलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
अस्पतालमा उपचारका क्रममा सर्लाही बागमती नगरपालिका–६ निवासी २१ वर्षीय मोहमद कैफ मिकरानीलाई दिउँसो १२ बजे चिकित्सकले मृत घोषणा गरेका छन् ।
अर्का घाइते सुमित यादवको अवस्था गम्भीर रहेको र उनको उपचार जारी रहेको इलाका प्रहरी कार्यालय कर्मैयाले जानकारी दिएको छ । दुर्घटनामा संलग्न टिपर घटनास्थलमै फेला परेको छ ।
चालक बागमती नगरपालिका–१२ निवासी ३४ वर्षीय उदव मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।