कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू नगण्य छन्ः देउवा

काठमाण्डु टुडे २०८२ जेठ १० गते १३:५२ मा प्रकाशित

काठमाण्डू, १० जेठ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू नगण्य रहेको बताएका छन ।

आज (शनिबार) नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाण्डूमा सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन ।

उनले स्व. रेग्मी त्यागी र कुनै किसिमको लोभ लालच नभएको व्यक्ति रहेको पनि बताएका छन । सभापति देउवाले पार्टीमा यस्ता व्यक्तिहरू धेरै कम रहेको उनको भनाइ छ । उनले भने, ‘ धेरै कम नेपाली कांग्रेसीहरू यस्ता छन् । सच्चा मानेमा नेपाली कांग्रेसको हृदयबाटै समर्पित भएर कांग्रेस बढाउन र बनाउन लागेका छन् ।

उहाँलाई पछि भेट्न पाइन मलाई दुःख लागिरहेको छ । उहाँ अत्यन्तै समर्पित साथी हो । त्यस्ता साथीहरू हाम्रो पार्टीमा नगण्य छन् भने पनि हुन्छ ।’ सभापति देउवाले स्व. रेग्मीको बारेमा लेखहरू लेखेर आम जनमानसमा उनको छविबारे उजागर गर्न जरुरी रहेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us