
काठमाण्डु,२२ मंसिर– नेकपा एकीकृत समाजवादीका सचिव तथा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले माओवादी केन्द्रसँग तत्काल पार्टी एकता नहुने बताएका छन् ।
उनले आगामी ५ वर्षको अवधिमा एमालेसहितको वामपन्थी एकताको सम्भावना रहेको भएपनि माओवादीसँगको एकता कुनै हालतमा नहुने उनले बताएका छन ।
उनले भने, ‘माओवादी र नेकपा एससँग मात्रै अहिले तत्कालै एकता हुँदैन ‘वृहत् वामपन्थी एकता हुने अवस्था सिर्जना गरेर मात्रै एकता हुन्छ ।’ उनले तत्कालका लागि एमाले बाहेकको एकता हुने र अन्तिममा एमालेसँग पनि एकता हुनसक्ने बताएका छन ।
उनले डा बाबुराम भट्टराईले भनेजस्तो कम्युनिष्टको झण्डा र सिद्धान्त छोडेर वृहत् एकता पनि नहुने बताएका छन । उनले भने, ‘नेपालमा कम्युनिष्टको झण्डा र सिद्धान्त छोडेर पार्टी बनाउन अहिलेलाई गाह्रो हुन्छ ’।
अर्को प्रसंगमा उनले कम्युनिष्टहरूको जनमत एमालेमै केन्द्रीत भएको देखिएको पनि बताए ।उनले भने ‘मुल रुपमा नेपालमा ठूलो कम्युनिष्ट पार्टी भनेकै एमाले हो भन्ने देखिएपछि आम कम्युनिष्ट मतदाताले एमालेलाई नै पपुलर मत दिए,’ ‘स्वतन्त्र पार्टीहरूलाई आएको मत भने पुराना पार्टीहरूको असन्तुष्टिको मत हो ।’
राईले सत्ता गठबन्धनले अहिले पाएको मतपरिणाम अपेक्षित नभएको पनि बताएका छन । ‘सोचेजस्तो मत आएन,’ उनले भने । प्रदेश १ का मुख्यमन्त्री समेत रहेका राईले संघमा गठबन्धनको सरकार बन्ने अवस्था रहेकोले प्रदेश १ मा पनि सोही सम्भावना रहेको बताए ।
‘प्रदेश १ मा पनि सत्ता गठबन्धनकै सरकार बन्ने सम्भावना देख्छु,’ उनले भने, ‘किनकि जसपा यहाँको निर्णायक पार्टी बनेको छ, त्यो पार्टी र त्यो पार्टीका नेताहरूले एमालेसँग चुनावताका गरेको गठबन्धन चुनाव सकिएपछि सकिएको बताएसँगै हामीसँगै मिल्नुहुन्छ भन्ने लाग्छ ।’
उनले आफूले अब बन्ने प्रदेश १ को सरकारको मुख्यमन्त्रीमा दाबी नगर्ने पनि बताएका छन । प्रदेश १ मा ९३ सांसद मध्ये नेकपा एससँग ४० जना सांसद छन् । सबैभन्दा ठूलो पार्टी बनेको नेकपा एमालेसँग ४०, नेपाली काँग्रेससँग २९, नेकपा माओवादी केन्द्रसँग १३, राप्रपासँग ६ तथा जनता समाजवादी पार्टीसँग १ जना सांसद हुने देखिएको छ । सरकार निर्माणका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । यसोत याहाँ जसपाको १ सिट नै निर्णयक हुने देखीन्छ ।