
काठमाण्डू, १० जेठ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा पर्यटक भिसाका नाममा भइरहेको मानव तस्करीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएपछि गृह मन्त्रालयले सार्वजनिक प्रतिक्रिया जनाएको छ ।
मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै छानबिन प्रक्रियामा पूर्ण सहयोग रहने बताएको छ ।
पर्यटक भिसाको आडमा युवाहरुलाई विदेश पठाइँदा दैनिक ५० लाख सेन्ट्रल कलेक्सन गरी उच्च राजनीतिक नेतृत्वसम्म भागबण्डा हुने गरेको र गृहमन्त्री रमेश लेखकसमेत जोडिएको समाचारहरु बाहिरिएको छ । यद्यपि गृहले उक्त कार्यमा गृहमन्त्री लेखकको संलग्नता नरहेको जनाएको छ ।
कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रीको संलग्नता नरहेको दाबी गर्दै अख्तियारबाट भइरहेका अनुसन्धानपछि वास्तविकता बाहिर आउने दाबी मन्त्रालयको छ ।
अख्तियारले प्रारम्भिक अनुसन्धान थालेसँगै गृह मन्त्रालयले अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरुको ठूलो संख्यामा सरूवा गरेको छ ।
बिहीबारमात्र ८ कर्मचारीलाई अन्यत्र सरुवा गरिएको हो । मन्त्रालयका अनुसार नासु प्रेमप्रसाद पौडेल र वीरभद्र जोशीलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डू, नरबहादुर थापालाई बाँके जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ ।
त्यसैगरी, सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठसहित कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरूङ र धनराज उपाध्यायलाई कारागार व्यवस्थापन विभागमा खटाइएको छ ।
यसअघि मन्त्रालयले अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई जिम्मेवारीमुक्त गर्दै मन्त्रालय तानेको थियो । पछिल्लो सरूवासहित हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका १५ जना कर्मचारीलाई अन्यत्र स्थानान्तरण गरिएको छ ।
पर्यटक भिसामा विदेश जाने व्यक्तिहरूलाई अवैध रुपमा पठाएर दैनिक ५० लाख रुपैयाँ उठाउने गरिएको र त्यसमा बिचौलियाको संलग्नता रहेको प्रारम्भिक सूचनाका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको हो ।