कोटेश्वरबाट सुनचाँदी जस्तो धातु र २९ लाख रूपैयाँसहित युवा पक्राउ

काठमाण्डु टुडे २०८२ जेठ १० गते २१:२५ मा प्रकाशित

काठमाण्डू, १० जेठ- काठमाण्डूको कोटेश्वर क्षेत्रबाट ठूलो परिमाणमा नगदसहित सुन र चाँदीजस्तो देखिने धातुसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कोटेश्वरस्थित सेती ओपी मार्गबाट ती युवकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार अवैध सुन कारोबार भइरहेको भन्ने सुराकीका आधारमा प्रहरी कारबाही अघि बढाइएको थियो ।

पक्राउ पर्ने व्यक्ति भारतको महाराष्ट्र सोलापुर घर भई हाल कोटेश्वर बस्दै आएका २७ वर्षीय योगेश श्रीमन्त मगर रहेको खुलेको छ । उनी ‘श्रीराम ज्वेलर्स’ नामक सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए।

प्रहरीका अनुसार, योगेशको साथबाट ७३४.२९ ग्राम सुनजस्तो देखिने धातु, करिब ९.५ किलो चाँदीजस्तो धातु, र २८ लाख ९६ हजार रुपैयाँ नगद बरामद गरिएको छ । बरामद गरिएका धातुहरू सुना र चाँदी हुन् वा होइनन् भन्ने पुष्टि हुन बाँकी छ ।

हाल उक्त धातुहरूको रासायनिक परीक्षण प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानपछि मात्र घटनाको पूर्ण पृष्ठभूमि स्पष्ट हुने बोहराले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us