एमाले सरकार गठनको दौडमा छैन: उपाध्यक्ष पाण्डे

काठमाण्डु टुडे २०७९ मंसिर २२ गते १४:५२ मा प्रकाशित

काठमाण्डु,२२ मंसिर– एमालेकौ उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन ।

उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयबारे नसोचेको उल्लेख गरे । उनले भने– “अहिलेको संसदमा एमाले प्रतिपक्षमा रहन्छ ।”

अहिलेको निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको उल्लेख गर्दै उनले एकभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने अवस्था रहेको बताएका छन ।

संसदमा कुनै पनि दलको बहुमत नपुग्दा सरकारले परिणाम दिने गरी काम गर्न नसक्ने उनको भनाइ छ । देशमा आर्थिक र राजनीतिक सङ्कट देखा परे कांग्रेस र एमालेबीच सहकार्य हुनसक्ने बताएका छन ।

निर्वाचनमा जनताले पुराना ठूला पार्टीलाई सजग गराउन खोजेको भन्दै उपाध्यक्ष पाण्डेले अब ठूला पुराना पार्टी सच्चिनुपर्ने अवस्था आएको बताएका छन ।

उनले भने– “जनता हिजोदेखि स्थापित पार्टीको पक्षमा देखिए पनि खबरदारी गरेको पाइयो ।” तत्काल वाम एकता सम्भव नरहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us