संसदमा बहुमत पुर्‍याउन हामी नै निर्णायक हुन्छौं: डा. सीके राउत

काठमाण्डु टुडे २०७९ मंसिर १८ गते १७:४४ मा प्रकाशित

काठमाण्डु,१८ मंसिर– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसदमा बहुमत पुर्‍याउन आफूहरु निर्णायक हुने बताएका छन् ।आज आईतबार राष्ट्रिय समाचार समितिसँगको अन्तर्वार्तामा उनले सरकार गठनका लागि आफ्नो पार्टीले पाएको सिट संख्या निर्णायक हुने बताएका छन ।

उनले भने, जनमत पार्टीले अहिले ल्याएको सिट सङ्ख्या निर्णायक छ । सरकार गठनका लागि संसद्मा बहुमत पुर्‍याउनका लागि हाम्रो छ सिट निर्णायक हुन्छ । प्रदेशमा पनि जनमत पार्टीको समर्थन बेगर सरकार बन्नसक्ने अवस्था रहन्न’ ।

जनमत पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सिट जितेको छ भने समानुपातिकतर्फ आइतबार दिउँसोसम्म १ करोड ४ लाख २० हजार मत गन्दा ३ लाख ९४ हजार ५२३ मत पाएको छ । त्यस्तै प्रदेश २ मा प्रत्यक्षमा ६ सिट र समानुपातिकमा कांग्रेस र एमालेपछि तेस्रो स्थानमा रहेको छ ।

आफूहरुको समर्थनविना सरकार नबन्ने अवस्थामा डेडलक हुन नदिने राउतले बताएका छन । उनले भने, हामी नजाँदा सरकार नै बन्दैन, त्यो भनेको ‘डेड्लक’को अवस्था हुन्छ ।

हाम्रो जिम्मेवारी भनेको निकास दिनु हो, हामी दिन्छौं । जसले हाम्रो शिक्षा, स्वास्थ्य र रोजगारीका माग र मुद्दालाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्छन् उसलाई नै हामी पनि समर्थन गर्छौं’ ।

मतदाताले परिवर्तनका लागि आफूहरुलाई मत दिएको भन्दै अध्यक्ष राउतले त्यसलाई खेर जान नदिने बताएका छन । नागरिकले मतदानमार्फत व्यक्त गरेको परिवर्तनको आवाजलाई अन्य दलले पनि सुन्नुपर्ने उनको भनाइ रहेको छ ।

जनताले निर्वाचनमार्फत अहिले परिवर्तन खोज्न दिएको सन्देश आत्मसात् गर्नुस् । अन्यथा गरिए राजनीतिक दलहरुप्रति विद्रोह र वितृष्णा अझ बढेर जान सक्छ ।

अहिले सच्चिने मौका छ । सबैले जनमतको कदर गरौँ । सेवा प्रवाह र जनताका माग मुद्दालाई केन्द्रित भएर अघि बढौं’, अध्यक्ष राउतले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us