
काठमाण्डु, १५ मंसिर– जनमत पार्टीका अध्यक्ष सिके राउत सरकारमा अब बन्ने सहभागी हुने भएका छन् ।
राउतले बिहीबार प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका थिए । त्यस क्रममा राउतले आफ्नो दल सरकारमा सहभागी हुने बताएका छन् ।
काँग्रेस नेता विमलेन्द्र निधिको सक्रियतामा देउवा–राउत भेट भएको हो । भेटपछि ट्वीट गर्दै निधिले राउत सत्ता गठबन्धनमा सामेल हुने समझदारी भएको जानकारी दिए ।
‘गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुवैमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ,’ निधिले भनेका छन् । यसअघि बुधबार निधि र राउतबीच कुराकानी भएको थियो ।
४ मंसिरमा सम्पन्न निर्वाचनमा राउत सप्तरी–२ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । ३ प्रतिशत थ्रेस होल्ड कटाएको उनको दलले समानुपातिकमा कम्तिमा पाउने पक्का छ ।