मतदाताहरुको विश्वासलाई घात गर्नेछैन: ज्ञानेन्द्रबहादुर कार्की

काठमाण्डु टुडे २०७९ मंसिर १५ गते १५:२३ मा प्रकाशित

काठमाण्डु,१५ मंसिर– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवंम् सुनसरी–४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आगामी दिनमा आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्ने बताएका छन् ।

बिहीवार प्रतिनिधिसभा सदस्यमा सुनसरी–४ बाट निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री कार्कीले आगामी दिनमा सुनसरी–४ को समृद्धि र सम्मानका लागि काम गर्ने बताएका छन ।

उनले आफूले यस क्षेत्रमा विगतमा गरेको कामको आधारमा मतदाताले जिताएको भन्दै आगामी पाँच वर्षको कार्यकालमा पनि अझै बढी काम गर्ने बताएका छन । उनले भने– ‘जुन विश्वासका साथ मलाई निर्वाचित गर्नुभएको छ ।

त्यो विश्वासलाई म अरु अभिवृद्धि गरेर लिएर जान्छु । र उहाँहरुको विश्वासलाई म घात गर्नेछैन । यहाँका आदरणिय दिदीबहिनी, दाजुभाईहरु जसले मलाई दोस्रो पटक निर्वाचित गर्नुभएको छ ।

उहाँहरुसँग पनि म प्रत्यक्ष संवाद गरेर भएका समस्याहरुलाई निराकरण गर्दै यो क्षेत्रको समृद्धि र सम्मानका निमित्त म काम गर्छु । मैले धेरै कामहरु यो क्षेत्रमा गरेको छु । त्यसैको आधारमा मलाई विजय गराउनुभएको छ ।

म पाँच वर्षको कार्यकालमा अरु बढी कामहरु म गर्नेछु ।’मन्त्री कार्की ३० हजार ४८३ मतका साथ सुनसरी ४ बाट विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका थिय ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us