
काठमाण्डु,१५ मंसिर– कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुसँग अनौपचारिक छलफल थालेका छन् । गठबन्धनमा रहेका दल तथा त्यसबाहिर रहेका दलका नेताहरुसँग उनले बालुवाटारमा छुट्टाछुट्टै छलफल गरेका छन् ।
प्रधानमन्त्री देउवाले लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउतलाई काठमाण्डुमा बोलाएर छलफल गरेका छन । सत्ता गठबन्धनलाई बहुमत जुटाउन केही सिट अपुग देखिन्छ ।
सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोसपाबाहेक पनि केही सिट आवश्यक परेपछि प्रधानमन्त्री देउवाले छलफल सुरु गरेका हुन ।
बहुमतका लागि प्रतिनिधिसभामा कम्तीमा १३८ सांसदको समर्थन आवश्यक हुन्छ । हाल प्राप्त मत परिणाम अनुसार प्रत्यक्ष र समानुपातिक गरी सत्ता गठबन्धनसँग १३२ सांसद पुग्ने देखिन्छ ।
सरकार बनाउन सत्ता गठबन्धनसँग ६ सिट अपुग हुने भएको छ । सीके राउतसँग एक सिट प्रत्यक्ष र समानुपातिक पाँचसहित ६ सिट छ । त्यही भएर सीके राउतलाई बिषेश रुपमा सत्ता गठबन्धनमा भित्र्याउन प्रयास भइरहेको छ ।
उता, नागरिक उन्मुक्ति पार्टी गठन गरेका रेशम चौधरीलाई पनि सत्ता गठबन्धनमै तान्ने प्रयास भइरहेको छ । नागरिक उन्मुक्ति पार्टीसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छलफल गरेका छन् ।
यता, स्वतन्त्रबाट जितेका प्रभु साह, किरण साह र डा।अमरेश सिंहलाई पनि सत्ता गठबन्धनले आफ्नो पक्षमा राखेर हिसाब गरिरहेको छ तर हालसम्म प्रभु साहले यस बारे केही पनि बोलेका छैनन् ।
महन्थ ठाकुर र सीके राउतले मधेस प्रदेश सरकारका लागि गठबन्धनसँग बार्गेनिङ गरिरहेको बुझिएको छ । दुवैजनाले मधेस प्रदेश सरकारको नेतृत्व माग गरिरहेका छन् ।
सीके राउत नेतृत्वको पार्टीको भूमिका प्रदेश तथा केन्द्र सरकार गठनमा निर्णायक भएको कारण नै सो पार्टीले बार्गेनिङको रफ्तार बढाएको छ । सो पार्टी संघ तथा प्रदेश सरकारमा जाने पक्षमा देखिन्छ ।
जनमत पार्टीका अध्यक्ष राउत भन्छन्, ‘छलफल सबैसँग भइरहेको छ, तर निष्कर्ष कसैसँग निस्केको छैन । आफूहरुको मुद्दा र मागमा जसले सहमति जनाउँछ, त्यसलाई सहयोग गर्ने उनको भनाइ रहेको छ छ ।