
काठमाण्डु, १५ मंसिर– एमाले महासचिव शंकर पोखरेलले सत्ता पक्षले गरेको निर्वाचन धाँधलीलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत पोखरेलले स्याङजा–२ र बाजुरामा निर्वाचन आयोगले सत्ता पक्षले सेटिङमा गरेको धाँधलीलाई वैधता दिएको आरोप लगाए ।
‘स्याङजा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ’, पोखरेलले फेसबुकमा लेखेका छन् । एमालेसहितका दलले स्याङजा–२ र बाजुरामा काँग्रेसले धाँधली गरेको भन्दै पुनः मतदान गर्नुपर्ने माग राख्दै आएको थियो ।
तर, निर्वाचन आयोगले मतगणनाको १० दिनपछि बिहीबार ती स्थानमा मतगणना सुचारु गर्ने निर्णय गरेको थियो ।