
काठमाण्डु, १३ मंसिर–काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले एमाले अध्यक्ष केपी ओलीप्रति कटाक्ष गरेका छन् ।
ओलीले मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा थापाथलीस्थित बागमती किनारामा सरकारी जमिन अतिक्रमण गरेर बस्दै आएका सुकुम्बासी बस्तीमा महानगरले डोजर चलाएको विषयमा आपत्ति जनाएका थिए ।
साहले सामाजिक सञ्जालमार्फत ओलीलाई जवाफ फर्काउँदै पटकपटक राज्यको जिम्मेवारीमा रहँदा ३० वर्षसम्म सुकुम्बासी समस्या किन समाधान नगरेको भन्दै प्रश्न गरेका छन् ।
‘तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डुको सुकुम्बासी समस्या समाधान गर्न सक्नुभएन’ बालेनले फेसबुकमा लेखेका छन्, ‘मन्त्री र पटकपटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नुभएन ।’
उनले सुकुम्बासीहरुलाई ओलीले भोट बैंकका रुपमा मात्र उपयोग गरेको आरोप लगाए । ओलीले सुकुम्बासीलाई गुठी आन्दोलनजस्ता आफ्नो स्वार्थ विपरीतका कुरामा प्रयोग गरेको समेत उल्लेख गरेका छन् ।
जनता, नदीनाला र नेवाः सभ्यताको माया भए ओलीको नेतृत्वमा लुँहिटी (सुन्धारा) सक्काएर सेतो टावर किन ठड्याउनुभयो भन्दै प्रश्न गरे ।
‘हनुमानढोकाको पुनर्निर्माणमा नेवाः सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनुभयो ? यी सबै हेर्दा नेवाः सभ्यता जोगाउने, नदी क्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले विरोध गर्नु असामान्य होइन’, बालेनले लेखेका छन् ।
बालेनले सके आफ्नो काममा सहयोग गर्न र नसके विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी दिए ।